अस्पताल कर्मचारीहरूको महाधिवेशन हुने
नेपाल अधिराज्यभर रहेका अञ्चल अस्पताल र केही जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरूको यही असार ७, ८ र ९ गते प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । महाधिवेशनमा अधिराज्यभरका झण्डै २ सय प्रतिनिधिहरू सहभागी हुने आयोजकहरूले जनाएका छन् ।
महाधिवेशनमा १४ अञ्चल अस्पताल र १५ जिल्ला अस्पतालका कर्मचारीहरूको सहभागिता रहनेछ । लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी राष्ट्रिय महाधिवेशन मूल तयारी समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महाधिवेशनबाट विकास समिति नियमावली पारित गरी बुटवल घोषणापत्र समेत जारी गर्ने कार्यक्रम रहेको जनाएको छ ।
त्यस अवसरमा डा. सुरेन्द्र गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको द्वैध नीति, भेदभाव, अदूरदर्शीता र ठोस नीतिको अभावका कारण कर्मचारीहरू मर्माहत भएको र अस्पताल विकास समिति गठन आदेश पञ्चायति हुकुमी आदेश जस्तो कानूनका कारण मनपरितन्त्र लागू भएको उल्लेख छ । कर्मचारीहरूले निजामति सेवा र स्वास्थ्य सेवा ऐनको ठाडो उल्लंघन गरेकोसमेत आरोप लगाएका छन् ।


अनलाईनसमाचार

